२२ लाख लगानीमा गाउँमा हर्बल साबुन उद्योग

बागलुङ सदरमुकामबाट ७० किमि टाढा दगा तुङडाँडा गाविस खर्बाङमा लघु उद्यम अन्तर्गत खर्वाङ च्युरी हर्बल साबुन उद्योग सञ्चालनमा आएको छ । विभिन्न गैरसरकारी संस्थाको अनुदान र पोखराको सांग्रिला डेभलपमेन्ट बैंकले आफ्नो लघुवित्त कार्यक्रम मार्फत ऋण प्रवाह गरेपछि सो हर्बल साबुन उद्योग सञ्चालनमा आएको हो । बैंकले ग्रामीण भेगमा उद्यमशीलताको विकास गर्न र स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न यो उद्योगमा लगानी गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले बताए ।


लघु उद्यम विकास कार्यक्रम नामक गैरसरकारी संस्थाले बागलुङ खरवाङमा प्रशस्त पाइने कच्चापदार्थ चिउरीको सम्भाव्यता अध्ययन गरेपछि स्थानीय चिउरीलाई प्रशोधन गरी हर्बल साबुन उत्पादन सुरू गरिएको उद्योगका अध्यक्ष यमबहादुर भुजेल मगरले बताए । उद्योगमा हालसम्म २२ लाख लगानी भइसकेको उनले बताए ।
गाउँमै पाइने चिउरीलाई प्रशोधन गरी निकालिएको घ्यू नरिवलको तेल, टेस्टर, ग्लिसिरिन,सेन्ट तथा अदुवा, कागती, तीतेपाती, अमला, बकाइनो, घ्यूकुमारीको रसको मिश्रण गरी उत्पादन गरिएको यो साबुनको प्रयोगले छाला नरम बनाउने, चायाँ, लुतो, एलर्जी, कालोपोतो हटाउने उद्योगका सञ्चालक खिमा पौड्यालले बताइन् । रू. ३३ र रू. २० का दुई प्रकारका हर्बल साबुन उत्पादन गरिरहेको उद्योगले होटलहरूमा प्रयोग हुने सानो साइजको साबुन बनाउने तयारी गरिरहेको अध्यक्ष भुजेलले बताए । अहिलेसम्म उत्पादित साबुनको करिब २५ प्रतिशत साबुन सांग्रिला डेभलपमेन्ट बैंकले नै खरिद गरी उद्योगलाई सहयोग गरिरहेको बैंकका लघुवित्त विभाग प्रमुख कमलबहादुर खत्रीले बताए । उहाँका अनुसार बैंकले लघुवित्तमा गरेको लगानीमध्ये यो ग्रामीण भेगको उदाहरणीय लगानीको उद्योग हो ।
बागलुङ सदरमुकामबाट झन्डै ६ घण्टा जीप यात्रापछि पुगिने खरवाङ क्षेत्रमा ९ जनाको समूहले उद्योग सञ्चालन गरी उत्पादित साबुन हाल बागलुङ, पर्वत, पोखरा र बुटवलसम्म बिक्रीका लागि पठाउने गरेका छन् । ग्रामीण भेगमा उत्पादित सो हर्बल साबुनले नेपाल गुणस्तर चिन्ह (एनएस) पनि पाइसकेको छ । साबुन बनाउन प्रयोग हुने कच्चापदार्थ चिउरी प्रशस्त पाइने भए तापनि बजारमा सहज रूपमा साबुन बिक्री गर्न नसक्दा हाल उद्योगले दैनिक साबुन उत्पादन गर्न सकिरहेको छैन ।
समूहमा आवद्धमध्येकी एक खिमा पौड्यालले भनिन्– गाउँमै लगानी गरेपछि पक्कै आम्दानी हुन्छ र एकदिन यो हर्बल साबुनलाई नेपालभरि नै परिचित बनाउने लक्ष्य राखी यो उद्योग चलाएका छौं । बजारमा माग बढेपछि उत्तिकै नाफा हुनेमा उनी ढुक्क छिन् ।
नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाले अनिवार्य लघुवित्तमा लगानी गर्नुपर्ने प्रावधान छ । सो अनुसार सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले पनि लघुवित्तअन्तर्गत उत्पादनमूलक र रोजगारमूलक उद्योग, व्यापार, व्यवसायमा करिब १८ करोड लगानी गरिसकेको र लगानी फिर्ता भई हाल ७ करोड रूपैयाँ लगानी भइरहेको बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले बताए । बैंकले हालसम्म ७ सय समूहलाई लघुवित्त कर्जा प्रवाह गरेको छ, जसबाट ३ हजार ५ सय सदस्य लाभान्वित भएको बैंकले जनाएको छ ।

Latest News