बाग्लुङको खर्वाङमा चिउरीको हर्बल साबुन

जंगलभरी पाइने चिउरीको घ्यूबाट बाग्लुङको दुर्गम गाउँ खर्बाङमा हर्बल साबुन उत्पादन हुँदै आएको छ । गाउँको एक समूहले स्थानीय जंगलबाट चिउरी संकलन गरी गाउँमै लघुउद्यम मार्फत् उत्पादन गरेको हर्बल साबुनले बजारमा ख्याती कमाईरहेको छ ।

दुर्गम गाउँका बासिन्दाले उत्पादन गरेको यो नुहाउने साबुन मुलुकका ठूला बजारसम्म पु¥याउन भने उनीहरुले सकेका छैनन् । गाउँलेले सीप सिकेर कच्चापदार्थ जुटाई साबुन उत्पादन गरे पनि बजारीकरणको ज्ञान नहुँदा गुणस्तरिय स्वदेशी उत्पादनले उचित बजार पाउन नसकेको हो ।


नेपालमा वर्षेनी ठूलो मात्रामा विदेशी साबुन आयात भइरहेका बेला स्वदेशी कच्चापदार्थबाट बनेको गुणस्तर चिन्ह प्राप्त ‘चिउरी हर्बल साबुन’ले भने उचित बजार पाउन सकेको छैन ।
स्थानीय यमबहादुर भुजेलसहितको समूहले बैंकबाट लघुवित्त कर्जा लिएर दुई वर्षअघि सुरु गरेको हर्बल साबुन उद्योगका उत्पादन अहिलेसम्म बाग्लुङ, पर्वत, म्याग्दी र केही मात्रामा पोखरासम्म आइपुगेको छ । एकपटक प्रयोग गर्नेले गुणस्तरिय साबुन चिनेर दोहो¥याएर खोज्ने गरे पनि नयाँ र ठूला बजारमा पु¥याउन नसकेको उनीहरुले बताएका छन् । स्थानीय बजारमा धमाधम बिक्री हुन थालेको यो साबुनलाई पोखरा, बुटवल, चितवन, काठमाडौ लगायत ठूला सहरमा पु¥याउने उद्योगको लक्ष्य छ । ठूला बजारमा यहाँको साबुन पु¥याउन सके उद्योगमा अहिलेभन्दा कैयन् गुणा उत्पादन बढाउन सक्ने क्षमता र कच्चापदार्थ रहेको समुहका अगुवा भुजेलले बताए ।
तीन वर्षअघि लघुउद्यम विकास कार्यक्रम नामक गैरसरकारी संस्थाले खर्बाङमा चिउरीको सम्भाव्यता र त्यसको उपयोगबारे सर्वे (अध्ययन) गरेको थियो । सोही अध्ययनका आधारमा गाउँमै हर्बल साबुन उत्पादन हुने देखेपछि उक्त संस्थाले स्थानीयलाई तालिम दिएर यसतर्फ प्रेरित गरेको हो ।
बाग्लुङ सदरमुकामबाट ७० किमि दुरीको खर्बाङमा कच्ची सडक हुँदै पुग्न जीपमा पाँचघण्टा लाग्छ । यति दुर्गम गाउँमा आफ्नै कच्चापदार्थ प्रयोग गरी साबुन उद्योग खोल्ने स्थानीयको प्रयासमा पोखरास्थित साँग्रिला डेभलपमेन्ट बैंकले साथ दिएको हो । उक्त बैंकको बाग्लुङ शाखाले बिनाधितो ऋण दिएपछि साबुन उत्पादनमा सहयोग पुगेको भुजेलले बताए । बैंकले पहिलो चरणमा लघुवित्त कर्जामार्फत् एक लाख ५० हजार लगानी गरेको छ भने फेरि त्यति नै लगानी थप्ने तयारी गरेको लघुवित्त विभाग प्रमुख कमलबहादुर क्षत्रीले बताए । उनकाअनुसार बैंकले एक वर्षसम्म कुल उत्पादित साबुनको २५ प्रतिशत आफुले खपत गरिदिने प्रतिवद्वता जनाएको छ । जसअनुरुप बैंकले आफ्ना कर्मचारी र ग्राहकलाई समेत दुर्गमको कोशेलीका रुपमा एक हजार थान साबुन खपत गराईसकेको छ ।
‘दुर्गम गाउँका बासिन्दाको मिहेनत र लगानीको सम्मान गरी उनीहरुलाई अझ प्रोत्साहन गर्न हामीले साबुन खपत गरिदिएका छौं’ क्षत्रीले भने,‘गाउँकै जंगलको कच्चापदार्थ प्रयोग गरी लघुउद्यम मार्फत् समूहमा मिलेर उदाहरणीय काम गरेका छन् ।’
स्थानीय उत्पादनलाई प्रवद्र्वन गर्न बाग्लुङस्थित होटल पिस प्यालेसले पनि एकैपटक एक हजार थान साबुन किन्ने भएको छ । यो पर्यटकीयस्तरको बाग्लुङकै ठूलो होटल हो ।
खर्बाङमा हर्बल साबुन उद्योग सञ्चालन गर्ने भुजेलको समूहमा स्थानीय पाँच महिलासहित कुल ७ जना विपन्न परिवारका सदस्य छन् । समूहका सदस्यले जनही ३७ हजार ५ सय लगानी गर्नुका साथै बैंकबाट लघुवित्त कर्जा लिएर उद्योग सुरु गरेका हुन् । उनीहरुले आफ्नै उद्योगमा काम बाँडेर चिउरी पेल्ने, घ्यू पकाउने, साबुन बनाउने र त्यसलाई बजारसम्म पु¥याउने काम गर्दै आएका छन् ।
उक्त साबुनले भर्खरै नेपाल गुणस्तर विभागबाट गुणस्तर प्रमाणको चिन्ह समेत पाएको छ । गुणस्तर चिन्ह पाएपछि उक्त साबुनलाई सजिलै बजारमा लैजाने बाटो खुलेको छ ।
उद्योगले सामुदायिक वनबाट उपभोक्ताले संकलन गर्ने चिउरी प्रतिकेजी २० रुपैयाँमा किन्ने गरेको छ । तीन केजी चिउरीबाट एक केजी घ्यू बन्छ । एक केजी घ्यूबाट २० वटा साबुन बन्ने उद्योगकी सञ्चालक खिमा पौडेलले बताइन् । उनले मध्यम र ठूलो गरी दुई आकारमा उत्पादन भईरहेको साबुन अब पर्यटकीय होटललाई समेत लक्षित गरी सानो आकारमा पनि निकाल्ने तयारीमा भईरहेको बताइन् ।
‘पहिले घरायसी काम गरेर सधैं दिन बिथ्यो’ पौडेलले भनिन्,‘आफ्नै गाउँमा समूह मिलेर उद्योग खोलेपछि फुर्सदको समय साबुन उत्पादनमा लगाएर महिनाको ४–५ हजार आम्दानी गर्न सक्ने भएका छौं ।’
उक्त उद्योगले वितेको दुई वर्षमा ४ लाख रुपैयाँ आम्दानी गरेको छ । कुल २२ लाख लगानी भएको साबुन उद्योगमा १४ लाख विभिन्न निकायबाट अनुदान आएको र झण्डै ४ लाख समूहको नाममा ऋण बाँकी रहेको उनले जानकारी दिइन् ।
उद्योगले राम्रो बजारीकरण गर्न नसक्दा उत्पादनअनुसार खपत बढाउन भने सकेको छैन । स्थानीय बजारका साथै बाग्लुङ र पोखरामा सिमित मात्रामा बिक्री हुने भएकाले क्षमताअनुसार उत्पादन गर्न नसकिएको भुजेलले बताए । उद्योगमा आगामी दुई वर्षका लागि साबुन उत्पादन गर्न पुग्ने चिउरीको घ्यू जगेडा भईसकेकोे छ । उद्योगमा मासिक ६ हजार थान साबुन उत्पादन गर्ने क्षमताका उपकरण छन् ।
‘गाउँकै सामुदायिक वनमा अथाह चिउरी छ’ भुजेलले भने,‘हामीले उत्पादन गरेको साबुनले ठूलो बजार नपाउँदा चाहेजति क्षमतामा साबुन बनाउन सकेका छैनौं ।’
उनकाअनुसार उद्योगले पहिलो वर्ष १ लाख ३० हजार र दोस्रो वर्ष २ लाख ५० हजार रुपैयाँको साबुन बेचेतेको छ । यो वर्ष ५ लाख रुपैयाँको साबुन बिक्री गर्ने उद्योगको लक्ष्य छ । पोखराका सबै पर्यटकीय होटलमा गाउँको हर्बल साबुन दिन सके उत्पादन र आम्दानी दुवै बढाउन सकिने उनले बताए ।
हर्बल साबुनमा चिउरीको घ्यूबाहेक नरिवलको तेल, केस्टर, फम बुस्टर, गिल्सिरिन, स्प्रिट, सेन्ट प्रयोग हुन्छ । यस्तै अदुवा, कागती, तितेपाती, अमला र बकाइनोको रस पनि साबुनमा प्रयोग हुने भुजेलले जानकारी दिए । धेरै केमिकलबाट बनेका अन्य साबुनभन्दा स्थानीय जडिबुटीको अधिकतम प्रयोगबाट बन्ने यो हर्बल साबुन छालाको लागि स्वास्थ्य र स्तरिय हुने उनको दावी छ । यसले नुहाए छालाको दाग र दाद हटाउने, छाला मुलायम पार्ने, चिल्लोपना राख्ने यसका गुण हुन् ।

Latest News