बागेश्वरी डेभलपमेन्ट बैंक लिमिटेड र साँग्रिला डेभलमेन्ट बैंक लिमिटेड गाभिए

मध्यपश्चिमाञ्चल तथा पश्चिमाञ्चल क्षेत्रमा स्थापना भई वित्तीय क्षेत्रमा आफ्नो अलग पहिचान स्थापित गर्न सफल २०६१ कार्तिक १३ गते नेपालगञ्ज, बाँकेबाट सञ्चालीत बागेश्वरी डेभलपमेन्ट बैंक लिमिटेड तथा २०६४ भाद्र ०९ बाट न्यूरोड पोखराबाट सञ्चालनमा आएको साँग्रिला डेभलमेन्ट बैंक लिमिटेड एक आपसमा १:१ शेयर अनुपातमा दुबै बैंकको तर्फबाट ३२–३२ करोड गरि कुल चुक्ता पूँजी रु. ६४ करोड पुरा गरि राष्ट्रिय स्तरको “साँग्रिला डेभलमेन्ट बैंक लिमिटेड” मा स्तरोन्नती भई आज मिति २०७१ आषाढ २९ गतेका दिनबाट कर्पोरेट/शाखा कार्यालय न्यूरोड, काठमाण्डौबाट एकिकृत कारोवार शुभारम्भ गरेको जानकारी गराउँदछु ।

दुवै बैंकको स्थापनाकाल देखिको मर्ज सम्बन्धी अवधारण आजको एकिकृत कारोबार पश्चात पुरा गर्न सफल भएकोमा साविक दुवै बैंक सञ्चालक समिति, मर्ज समिति र सम्पूर्ण बैंक परिवार गौरवान्वीत भएका छौ । नेपाल राष्ट्र बैंकले ल्याएको मर्ज सम्बन्धी अवधारणाले वित्तिय क्षेत्र सवल, सुदृढ एवं परिमार्जित हुने बैंकको ठहर रहेको छ । मर्ज केवल मर्जको लागी (बाध्यात्मक) नभई स्वस्फूर्त र योजनावद्ध तरिकाले भएमा भविष्यमा राम्रो प्रतिफल र सिनर्जी प्राप्त हुन सक्ने भएकोले हतार नगरि कार्य योजना सहित मर्जमा अगाडी बढ्नु पर्ने बैंकको अनुभव रहेको जानकारी गराउँदछौ । मर्जले बैंक तथा वित्तीय संस्थाको समग्र विकासका लागी थप ढोका खुल्ला गर्ने र पर्याप्त चुनौतिहरु पनि सामना गर्नुपर्ने भएको हुँदा कार्य योजना र सहकार्यलाई प्राथमिकतामा लिई व्यक्तिगत स्वार्थ भन्दा टाढा रही संस्थाको हितलाई प्राथमिकतामा  राखि मर्ज कार्य अगाडी बढाउनु पर्ने बैंकको ठहर रहेको छ ।

विगत लामो समय देखिको मर्जको कार्य योजना तथा दुवै बैंकको प्रयास आजका दिनबाट एकिकृत कारोबार शुभारम्भ गरि बैंक एक खुट्किलो  अगाडी बढेको र थप धेरै खुट्किलाहरु पार गर्दै अगाडी बढ्नु पर्ने चुनौती बैंक समक्ष रहेको हाम्रो ठहर रहेको छ र यस मर्जको गहन जिम्मेवारीलाई संयमताका साथ पुरा गर्न सहयोग गर्नुहुने सम्पूर्ण शेयर धनीहरु प्रति हार्दिक आभार व्यक्त गर्दछु ।

बैंकलाई राष्ट्रिय स्तरको विकास बैंकमा रुपान्तरण गर्न सहयोग गर्नुहुने नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, कम्पनी रजिष्ट्रार कार्यालय, स्थानिय रुपमा सहयोग गर्नुहुने विभिन्न सरकारी कार्यालयहरु विभिन्न संघ/संस्था, सम्पूर्ण ग्राहक महानुभावहरु, सम्पूर्ण शेयरधनी महनुभावहरु, साविक बैंकका विगत देखि हाल सम्मका सञ्चालक समिति, मर्ज समिति, विभिन्न उप समितिहरु, सम्पूर्ण कर्मचारी परिवारहरु तथा सम्पूर्ण संचार क्षेत्र प्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौ । मर्ज कार्य आफैमा सहज कार्य नभएको र यसलाई सकारात्मक सोच र हौसला प्रदान गर्दै मर्ज कार्यलाई अन्तीम क्षणसम्म सहि दिशानिर्देश गरि मर्ज सफल गराउनु हुने नेपाल राष्ट्र बैंक बैंक तथा वित्तीय संस्था नियमन विभाग मर्ज डेष्क टिम तथा सम्पूर्ण बैंक परिवार प्रति हार्दिक आभार व्यक्त गर्दै मर्ज पश्चात समेत एक सफल, सुदृढ एवं आकर्षक प्रतिफल प्रदान गर्न सक्षम बिकास बैंकको रुपमा “साँग्रिला डेभलमेन्ट बैंक लिमिटेड” (राष्ट्रिय स्तर विकास बैंक) अगाडी बढाउने प्रण गर्दछौ ।

आजको एकिकृत कारोबार समारोहको सभापतित्व साविक बागेश्वरी डेभलपमेन्ट बैंक लिमिटेडका अध्यक्ष श्री अच्यूत प्रसाद प्रसाईले गर्नु भएको र दुबै बैंकका संचालक, शेयरधनी तथा शुभेच्छुकहरु सहभागीहरु हुनु भएको यस कार्यक्रमको प्रमुख अतिथी नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर श्री महाप्रसाद अधिकारीले मर्ज बैंकको एकिकृत कारोवारको शुभारम्भ गर्नु भएको थियो ।

मर्ज बैंक साँग्रिला डेभलमेन्ट बैंक लिमिटेड (राष्ट्रिय स्तर )वित्तीय झलक

१)      कार्यक्षेत्र :  नेपाल राज्यभर (राष्ट्रिय स्तर)
२)     चुक्ता पूँजी :  रु ६४ करोड
३)     निक्षेप :  रु. ६.४४ अर्ब (२०७० आषाढ २७ सम्म)
४)     कर्जा÷सापट :  रु. ५.१५ अर्ब (२०७० आषाढ २७ सम्म)
५)    सञ्चालन मुनाफा :  रु. १८ करोड ८४ लाख (२०७० चैत्र मसान्त सम्म)
६)    शाखा सञ्जाल :  २४ शाखा (न्यूरोड शाखा समेत)
७)    एटिएम संख्या :  ६ (न्यूरोड समेत)
८)    कर्जा निक्षेप अनुपात :  ७१ प्रतिशत
९)    पूँजी कोष :  १५.९५ प्रतिशत
१०)  खराव कर्जा अनुपात :  १.२२ प्रतिशत
११)   कर्मचारी संख्या :  २८०

मिति : २०७१/०३/२९ गते

राजेन्द्र प्रसाद पौडेल
प्रमुख कार्यकारी अधिकृत
साँग्रिला डेभलपमेन्ट बैंक लिमिटेड
(राष्ट्रिय स्तर)

Latest News